काठमाडाैं । अनधिकृत व्यापारलाई नियन्त्रण गर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
कालोसूचीमा पर्ने व्यवसायीको संख्या बढ्दै गएको र व्यवसाय गर्ने वातावरणसमेत खल्बलिएको भन्दै महासंघले आज ज्ञापानपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने क्रममा महासंघका महासचिव नवीन लुईंटेलले अहिलेको विषम परिस्थितीबाट देश र अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ लैजान सरकारले उचित कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले विभिन्न मुलुकबाट नेपालतर्फ पैठारी हुने सामानहरु अवैधानिक तवरबाट भित्रिरहेको अहिलेको अवस्थामा बढ्दो भन्सार दर, अव्यवहारिक मूल्यांकन तथा हालको दरवन्दीका कारण अनाधिकृत व्यापारले प्रश्रय पाइरहेको बताउनु भयो ।
अनाधिकृत व्यापारको कारण सरकारले भन्सार कर, मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क लगायत अन्य विभिन्न करहरु गुमाउनु परिरहेको बताउँदै उहाँले अविलम्व भन्सारका सन्दर्भ दर घटाउन, यथार्थ कारोबार विलमा मूल्यांकन गर्न माग गर्नुभयो ।
गत आर्थिक वर्षमा ७५ हजार व्यवसायी कालोसूचीमा परेको आँकडा रहेको, नेपाल राष्ट्र बैंकमा इतिहासमा नै सबैभन्दा धेरै मुद्रा सञ्चिति रहे पनि आर्थिक मन्दी कायम रही पुँजीगत लगानी हुन नसकेको, बैंकमा आर्थिक तरलता रहेको १६ प्रतिशतबाट ८ प्रतिशतसम्म आइपुग्दासमेत ऋण नहुनुले आर्थिक अवस्था झन बिग्रने सम्भावना बढेको उहाँले बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया