बंगालको खाडी र अरब सागरको वायु नेपालमा प्रवेश, आज पनि केही भागमा वर्षाको सम्भावना

601 Shares

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार पनि देशका केही भागमा वर्षा तथा हिमपातको सम्भावना देखिएको जनाएको छ । 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार यस्तो छ आज दिउँसो र राति हुने मौसम, वर्षा र हिमपातको सम्भावना: 

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । यसक्रममा दिउँसो कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।

राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

यस क्रममा राति कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।

मौसम महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।