निजी क्षेत्रको लगानीबिना मुलुकले समृद्धि प्राप्त गर्न सक्दैनः पर्यटनमन्त्री

357 Shares

नवलपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकारले हर तरहबाट सहयोग गर्ने बताउनुभएको छ।

सोमबार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि देशको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले सरकारको मात्रै लगानीले समृद्धि प्राप्त नहुने बताउनु भयो । पर्यटनको क्षेत्रमा सरकारले लगानी गर्न नसक्ने बताउँदै उहाँले निजी क्षेत्रले केवबलकार, एयरलाइन्सलगायत पर्यटनको क्षेत्रमा लगानी नगरेको भए पर्यटकीय क्षेत्रको विकास अहिलेको गतिमा हुन नसक्ने बताउनु भयो । निजी क्षेत्रलाई लगानीमैत्री वातावरणका लागि कानून निर्माणलगायतका काम सरकारले गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले सरकारले हालै ल्याएको अध्यादेश र त्यसपछि बनेको ऐनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताउनु भयो ।

मन्त्री पाण्डेले निजी क्षेत्रले व्यवसायबाट आर्जित रकमबाट इमान्दारितापूर्वक राज्यलाई कर तिर्नुपर्ने बताउनु भयो । उहाँले कर छली, बढी नाफा लिनेलगायतको मनशायबाट निजी क्षेत्र टाढै बस्नु पर्ने बताउनु भयो । श्रम, पसिना तथा बौद्धिकता लगाएर काम गर्ने श्रमिकहरुलाई समयमै उचित पारिश्रमिक दिनुपर्ने बताउनु भयो ।

मन्त्री पाण्डेले धर्म दानले चल्ने, निजी क्षेत्र नाफाले चल्ने र राज्य राजश्वले चल्ने भएकाले यी तीन कुरामा चिन्तन मनन गरेर अगाडि बढाउनु पर्नेमा जोड  दिनुभयो ।