बजेट विनियोजन ठिक ढङ्गले नहुनु हाम्रो मुल समस्याः पूर्वअर्थमन्त्री महत

347 Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रको समस्या बजेट विनियोजन र कार्यान्वयन भएको बताउनुभएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकको समस्या भनेकै बजेट विनियोजन ठिक ढङ्गले नहुनुभएको बताउँदै उहाँले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने विषय अर्थमन्त्रीको दृढताले निर्धारण गर्ने बताउनु भयो । 

उहाँले खर्च गर्नुपर्ने ठाउँमा खर्च नभएको, खर्च गर्न नपर्ने ठाउँमा बढी खर्च भएको र थोरै थोरै रकम छरिएको जिकिर गर्नुभयो । अध्ययन भएका आयोजनाहरूलाई मात्रै केन्द्रित गरेर बजेट विनियोजन गर्ने सरकारले प्रतिबद्धता जनाएकोसमेत धारणा राख्नुभयो । नेपाली काँग्रेसका प्रवक्तासमेत रहनुभएका उहाँले सीमित स्रोत र साधनको दुरुपयोग नहुने, प्रभावकारी कार्यान्वयन हुने र सुनिश्चित गर्ने अवस्था सिर्जना गर्नको लागि अर्थमन्त्रीले गृहकार्य गर्नुपर्ने बताउनु भयो ।  

उहाँले सरकारले प्रश्तुत गरेको र दुवै सदनबाट पास भएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्नुभयो ।