बजेट प्रश्तुत गर्ने समयमा गभर्नर नियुक्तिमा ढिलाई हुँदा नकारात्मक असर पर्छः रामहरि खतिवडा

396 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले बजेट प्रश्तुत गर्ने समयमा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त नहुनुले सरकारमाथि नकारात्मक असर पर्नसक्ने बताउनुभएको छ। 

बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले निमित्त गभर्नरले समस्या खडा गरेको देखिएको बताउनु भयो । उहाँले कसैको लहडका भरमा गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा गभर्नर नियुक्तिमा ढिलाई हुँदा समग्र अर्थतन्त्रमा समस्या उत्पन्न हुनसक्ने बताउनु भयो । अर्थतन्त्रलाई कमजोर हुन नदिन सरकारले तत्काल गभर्नर नियुक्ति गनुपर्ने उहाँको भनाइ छ ।

सांसद खतिवडाले कसैले गलत ढंगबाट सम्पत्ति आर्जन गरी विदेशमा राखेको छ भने त्यस्तो सम्पत्ती सरकारी कोषमा ल्याउने पद्धति विकास गर्नुपर्ने बताउनु भयो । उहाँले अख्तियारले आर्थिक घोटाला लगायतका ठूला काण्डहरुको छानबिनमा ढिलाइ गरेर साना काण्डमा छानबिन गरेर अख्तियारले  राम्रो काम गरेको भन्ने भान पारिरहेको आरोप लगाउनु भयो । उहाँले सम्पत्ति छानबिन वा अनुसन्धान गर्ने सम्बन्धित निकायहरु भएकाले सबै क्षेत्रमा अख्तियार सर्वेसर्वा बन्न नहुने बताउनु भयो । 

सांसद खतिवडाले नीति तथा कार्यक्रम नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त कार्यक्रम भएकाले काँग्रेसले समर्थन गर्ने बताउनु भयो । वर्तमान सरकारलाई काँग्रेसले अप्ठ्यारो नपार्ने उहाँको भनाइ छ ।