काठमाडौँ । खेतबारी खनजोत गर्न आधुनिक कृषि उपकरण अर्थात् हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु पाल्ने परम्परागत चलन घट्दै गएको छ। खेतीपातीका लागि वर्षौंदेखि गोरुमा निर्भर रहँदै आएका किसान पछिल्लो समय कम समय र श्रममा काम गर्न सकिने कृषि उपकरणतर्फ आकर्षित भएपछि गोरुपालन क्रमशः घट्न थालेको हो।
विगतमा भोजपुरका अधिकांश किसान परिवारले खेतीपातीका लागि कम्तीमा एक हल गोरु पाल्ने चलन थियो। खेत जोत्न, माटो सम्याउन तथा अन्य कृषि कार्यमा गोरुको प्रयोग गरिन्थ्यो। तर, प्रविधिको विकाससँगै हातेट्रयाक्टरबाट छोटो समयमै खनजोत गर्न सकिने भएपछि किसानले गोरु पाल्न छाड्दै गएका छन्।
टेम्केमैयुङ गाउँपालिका–५ का गणेश विष्टका अनुसार गोरुले एक दिन लगाएर गर्ने खेतबारीको खनजोत हातेट्रयाक्टरबाट तीनदेखि चार घण्टामै सम्पन्न गर्न सकिन्छ। परम्परागत रूपमा गोरुबाट खेत जोत्दा धेरै समय र श्रम खर्चिनुपर्ने भए पनि हातेट्रयाक्टरको प्रयोगले काम छिटो र सहज भएको उनले बताए।
‘समय र श्रम दुवै बचत हुने भएकाले अहिले किसानको रोजाइ हातेट्रयाक्टर बनेको छ,’ उनले भने।
टेम्केमैयुङ गाउँपालिका–४ नागीका रामकुमार राई पनि हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने परम्परा कमजोर बन्दै गएको बताउँछन्। विगतमा खेतीपातीका लागि प्रायः प्रत्येक घरमा एक हल गोरु हुने गरे पनि अहिले अधिकांश किसानले गोरु पाल्न छाडेको उनको भनाइ छ।
‘पहिले गाउँमा गोरु नपाल्ने घर कमै हुन्थे। खेतीपातीका लागि गोरु अनिवार्यजस्तै थियो,’ उनले भने, ‘अहिले हातेट्रयाक्टरले खेतबारी जोत्न थालेपछि गोरु पाल्ने चलन निकै घटेको छ।’
किसान एकराज विष्टका अनुसार गाउँमा खेतीपाती गर्ने परिवारका सदस्य तथा जनशक्ति घट्दै गएको अवस्थामा कृषि उपकरण निकै उपयोगी बनेका छन्। हातेट्रयाक्टरको प्रयोगले खनजोतका लागि गोरुमाथिको निर्भरता घटाउनुका साथै पशुपालनमा खर्चिनुपर्ने समय र श्रमसमेत बचत भएको उनले बताए।
वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवाशक्ति बाहिरिने क्रम बढ्दा कृषि क्षेत्रमा जनशक्तिको अभाव हुँदै गएको उनको भनाइ छ। यस्तो अवस्थामा कृषि उपकरणले खेतीपातीलाई निरन्तरता दिन सहज बनाएको उनले बताए।
किसानको माग र आवश्यकताअनुसार स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयले अनुदानमा हातेट्रयाक्टर वितरण गर्दै आएका छन्। कृषि क्षेत्रमा यान्त्रीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय सरकारले पनि किसानलाई कृषि उपकरण उपलब्ध गराउँदै आएका हुन्।
पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार गाउँपालिकाले किसानको मागका आधारमा हातेट्रयाक्टर वितरण गर्दै आएको छ।
उनले गत वर्ष गाउँपालिकामार्फत किसानलाई ३६० वटा हातेट्रयाक्टर वितरण गरिएको जानकारी दिए। किसानबाट हातेट्रयाक्टरको माग बढ्दै गएको उल्लेख गर्दै उनले कृषि कार्यलाई सहज, छिटो र प्रभावकारी बनाउन अनुदान तथा अन्य कार्यक्रम सञ्चालन गरिएको बताए।
कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा परम्परागत खेती प्रणालीमा समेत परिवर्तन आउन थालेको अध्यक्ष राईको भनाइ छ। विगतमा गोरुमा आधारित खेती प्रणाली अहिले क्रमशः कृषि उपकरणमा आधारित हुँदै गएको र यसले ग्रामीण कृषि जीवनशैलीमा समेत प्रभाव पारेको उनले बताए।
हातेट्रयाक्टरको प्रयोगले खेतीपातीमा सहजता थपे पनि यसको सञ्चालन तथा व्यवस्थापनमा केही चुनौती रहेको पौवादुङमा गाउँपालिका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए।
उनका अनुसार हातेट्रयाक्टर सञ्चालन गर्न इन्धन, नियमित मर्मतसम्भार तथा प्राविधिक ज्ञान आवश्यक पर्छ। त्यसैले किसानले कृषि उपकरण प्रयोगसँगै यसको उचित व्यवस्थापन र मर्मतसम्भारमा समेत ध्यान दिनुपर्ने उनको सुझाव छ।
गाउँपालिकाले किसानलाई हातेट्रयाक्टरको प्रयोग र मर्मतसम्भारसम्बन्धी तालिमसमेत प्रदान गर्दै आएको उनले जानकारी दिए।
समग्रमा कृषि क्षेत्रमा आधुनिक उपकरणको प्रयोग विस्तार हुँदै जाँदा भोजपुरका ग्रामीण क्षेत्रमा खेतीपातीको शैली परिवर्तन भइरहेको छ। हातेट्रयाक्टरले किसानको समय र श्रम बचत गरे पनि पुस्तौँदेखि चल्दै आएको गोरु पाल्ने परम्परा भने क्रमशः कमजोर बन्दै गएको छ। यससँगै ग्रामीण कृषि जीवनशैली र परम्परागत खेती प्रणालीमा समेत परिवर्तन देखिन थालेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया