प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक नभएको कांग्रेसको निष्कर्ष

9 Shares

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धीहरु आधिकारिक रुपमा सार्वजनिक गर्न माग गरेको छ ।

बुधवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले यस्तो माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धीमूलक हुन नसकेको पनि बताउनुभयो । उहाँले दुई देशबीच लामो समयदेखि छलफलकै क्रममा रहेका तथा नटुंगिएका विषयहरु टुंगिनेमा नेपाली जनताको विश्वास रहेको भएपनि त्यसअनुसार दृष्टिकोण राख्न प्रधानमन्त्री सफल भएको नदेखिएको बताउनुभयो ।

उहाँले भारतले नेपाललाई सहयोग गर्ने भनि घोषणा गरिएको रकम ऋण हो वा अनुदान भन्ने कुरा समेत सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमण निजी नभई मुलुकको प्रतिनिधित्व गर्ने भ्रमण भएकाले त्यसका उपलब्धि र समझदारीबारे जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएको दोहोर्‍याउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमणबाट के अपेक्षा गरिएको थियो भने लामो समयसम्म छलफलकै क्रममा रहेका र नटुंगिएका विषयहरु टुंगोमा पुग्नेगरी छलफल हुनेछन् र विवादित विषयहरुमा नेपालको दृष्टिकोण प्रधानमन्त्रीज्यूले स्पष्टसँग राख्नुहुनेछ भन्ने आम नेपालीको विश्वास थियो । सबैभन्दा पहिलो कुरा यसमा विश्वासघात भयो । कुनैपनि पुराना वा नयाँ कुरामा स्पष्टसँग धारणा राखेको देखिएन । तरपनि हामी यसबारेमा के भन्छौँ भने सम्माननीय प्रधानमन्त्रीज्यूले भारतमा गएर के के गर्नुभएको हो ? को कोसँग भेट्नुभएको हो ? के के छलफल भयो ? के के सम्झौता भए ? के के प्रक्रियामा अघि बढेको हो ? सहयोगको घोषणा भएको कुरा ऋण हो कि अनुदान हो ? यी सबै कुराहरु प्रधानमन्त्रीज्यूले नेपाली जनतालाई आधिकारिक रुपमा नेपाली जनतालाई भन्नुपर्यो । प्रधानमन्त्रीको भ्रमण निजी हुँदैन, उहाँ यो देशको प्रतिनिधित्व गरेर जानुभएको हो नि । त्यसकारण भ्रमणका क्रममा भएका उपलब्धी र समझदारीहरु समेत उहाँले देशलाई गराउनुपर्यो । अर्को कुरा, भ्रमणका क्रममा जे उपलब्धी भए भनिएको छ, त्यो सबै कुरा टुंगोमा पुगेको हो कि छलफल मात्र भएको हो रु यस विषयमा समेत स्पष्टसँग कुरा आएको छैन । उहाँले स्पष्ट पार्नुपर्छ ।’

प्रधानमन्त्री शाहले हालै भारतको दुई दिने राजकीय भ्रमण गर्नुभएको थियो । महामन्त्री पौडेलले सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको पुनःस्थापनाको काममा बेवास्ता गरेको आरोप पनि लगाउनुभयो ।