काठमाडौं । देशका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा आधाभन्दा बढी औषधि पसलले चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री गर्ने गरेको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा मंगलवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक शम्भु साहले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार विभागले विराटनगर, नेपालगञ्ज र वीरगन्जलगायतका स्थानमा ७५ वटा औषधि पसलको अनुगमन गर्दा आधाभन्दा बढीले चिकित्सकको प्रेस्क्रिप्सनबिना नै एन्टिबायोटिक बिक्री गरेको पाइएको बताउनुभएको हो ।
बिरामी हुँदा प्रयोग गरिने एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले यसको प्रभावकारिता घट्नुका साथै जनस्वास्थ्य जोखिम बढ्दै गएको भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँकाअनुसार अनुगमनका क्रममा नियमविपरीत एन्टिबायोटिक विक्री गर्ने औषधि पसललाई सचेत गराइएको छ । सचेत गराउँदा समेत नियमविपरित एन्टिबायोटिक औषधि विक्री गरेमा जरिवानासहित कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ छ ।
औषधि व्यवस्थापक साहले औषधि ऐन संशोधनका क्रममा बिना प्रेस्क्रिप्सन एन्टिबायोटिक विक्री गर्नेलाई जरिवाना गर्ने व्यवस्था प्रश्ताव गरिएको समेत बताउनुभयो । एन्टिबायोटिकको अनियन्त्रित विक्री नियन्त्रण गर्न कानूनी व्यवस्थामा नै कडाइ गर्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि साताव्यापी सचेतना कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी त्यसको प्रभावकारिता आगामी वर्षहरूमा मापन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा निगरानी सूचीमा रहेका एन्टिबायोटिकको खपत घटे–नघटेको, कृषि तथा पशुपालन क्षेत्रमा एन्टिबायोटिकको प्रयोग नियन्त्रण भए–नभएको, खाद्य पदार्थमा औषधिको अवशेष परीक्षण, अस्पतालमा परामर्श सेवा, संक्रमण नियन्त्रण तथा प्रयोगशालाको क्षमता विस्तारजस्ता विषयलाई आगामी दिनमा मूल्याङ्कनको आधार बनाउनुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘बजारमा एन्टीबायोटिक प्रिस्क्राइब गरिरहेको औषधि पसलहरू छन् भने एकचोटि नियमन पनि गर्नुपर्छ भनेर हाम्रो टोली विराटनगर, नेपालगन्ज, वीरगञ्ज गएर ७५ वटा औषधि पसलको अनुगमन गर्यौँ । ७५ वटा औषधि पसलको हामीले अनुगमन गर्दाखेरि लगभग आधाभन्दा बढी नै मौखिक रूपमा एन्टीबायोटिक बिक्रीवितरण गरेको पाइयो । उहाँहरूलाई कतिपय ठाउँमा हामीले यसपालि सचेत गराएका छौँ । यो साप्ताहिक अभियान एउटा अवेयरनेस र सचेतना फैलाउने कार्यक्रम पनि भएको कारणले हामीले सेन्सिटाइज नै गर्दै छौँ । आगामी दिनमा त्यसलाई कारबाहीको दायरामा लैजाने, जरिवानाको व्यवस्था गर्ने लगायतका कुराहरू पनि हामीले हाम्रो कार्यक्रममा राखेका छौँ र मन्त्रालयमा पनि यसपालिको औषधि ऐन संशोधनको लागि हामीले पठाउँदाखेरि जरिवानाको व्यवस्था गर्ने भनेर प्रश्ताव राखेका छौँ ।’
नेपाल औषधि आयातकर्ता संघका उपाध्यक्ष पृथ्वीराज वैद्यले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपालन, कुखुरापालन, कृषि, खाद्य सुरक्षा र वातावरणसँग समेत जोडिएको समस्या भएको बताउनुभयो । उहाँले एएमआर नियन्त्रणका लागि ‘वान हेल्थ’ अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पशु तथा कृषि क्षेत्रमा एन्टिबायोटिकको अनियन्त्रित प्रयोगसमेत नियमन गर्नुपर्ने बताउनुभयो ।
वैद्यले औषधि आयातकर्ता तथा वितरकले गुणस्तरीय औषधिको आयात, सुरक्षित भण्डारण र जिम्मेवार वितरण सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै चिकित्सकको प्रेस्क्रिप्सन र प्रचलित कानूनअनुसार मात्र एन्टिबायोटिक बिक्रीवितरण गर्ने अभ्यासलाई सुदृढ बनाउन संघ प्रतिबद्ध रहेको बताउनुभयो ।
एएमआर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘एएमआर मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र वातावरणसँग प्रत्यक्ष जोडिएको एउटा गम्भीर राष्ट्रिय तथा विश्वव्यापी चुनौती हो । त्यसैले यसमा हामीले एक स्वास्थ्य अवधारणा व्यवहारमा लागू गर्न गर्न आवश्यक छ । जस्तै एएमआर नियन्त्रण मानव स्वास्थ्यमा मात्र सीमित हुनुहुँदैन । यसको लागि अस्पताल, चिकित्सक, औषधि पसल र एन्टी बायोटिकको प्रयोगलाई मात्र केन्द्रमा राख्ने गरेका छौँ । तर यो दृष्टिकोण पर्याप्त छैन । मानिसले जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा धेरै नै समस्या हुने गरेको छ ।’
छलफलमा सहभागिहरुले चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक विक्री गर्न नदिन कानूनमार्फत नै कडाइ गर्नुपर्नेमा जोड दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया