प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्ध सकारात्मक लयमा फर्कियो: परराष्ट्रमन्त्री खनाल

19 Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताएका छन् ।

प्रधानमन्त्री साह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले यस्तो बताएका हुन् ।

उनका अनुसार प्रधानमन्त्रीको दुईदिने राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित, आर्थिक वृद्धि, विकास र समृद्धिलाई केन्द्रमा राखेर सम्पन्न भएको हो ।

भारतसँगको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने विषय भ्रमणको मुख्य प्राथमिकतामा रहेको उनले बताए ।

मन्त्री खनालले भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘वर्तमान सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ । मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौँ पुरानो घनिष्ठ बहुआयामिक सहयोगात्मक र जनस्तरको सम्बन्ध एवम् सहकार्यलाई थप मजबुत बनाई दुवै मुलुकका नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित रह्यो । साथै लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौँ’, उनले भने ।

भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुका साथै आगामी दिनमा परिणाममुखी उपलब्धि हासिल गर्ने आधार तयार पारेको पनि उनले बताए ।