विद्यालय रूपान्तरणका लागि प्रधानाध्यापक संघले ल्यायो १२ बुँदे प्रतिबद्धता

20 Shares

काठमाडौं । प्रधानाध्यापक संघ नेपालले विद्यालय शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा र विद्यालय रूपान्तरणका लागि १२ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ ।

जनकपुरधाममा मंसिर ४ देखि ६ गतेसम्म आयोजित तेस्रो राष्ट्रिय प्रधानाध्यापक शिखर सम्मेलनले ‘राष्ट्रिय विद्यालय रूपान्तरण प्रतिबद्धता–पत्र, २०८३’ जारी गर्दै विद्यालयलाई सुरक्षित, हरित, प्रविधिमैत्री, एआई (कृत्रिम बुद्धिमत्ता) सक्षम, समावेशी तथा सीपमूलक सिकाइ केन्द्रका रूपमा विकास गर्ने संकल्प गरेको हो ।

‘लेट्स बिल्ड बेटर स्कुल्स टुगेदर’ भन्ने नारासहित आयोजित सम्मेलनमा देशभरका करिब एक हजार प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरू सहभागी थिए ।

संघले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा समयानुकूल संघीय शिक्षा ऐन निर्माण, प्रधानाध्यापकको नेतृत्व विकास, शिक्षक तथा विद्यालय कर्मचारीको पेसागत सम्मान र विद्यालयमा एआई तथा डिजिटल प्रविधिको प्रयोग विस्तारलाई प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नुपर्ने विषय पनि समेटिएको छ ।

त्यस्तै, विद्यालयमा विपद् जोखिम न्यूनीकरण, सुरक्षित पूर्वाधार निर्माण, जलवायु परिवर्तनसम्बन्धी शिक्षा र हरित विद्यालय अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विद्यार्थीलाई जीवनोपयोगी तथा व्यावसायिक सीप प्रदान गर्दै विद्यालयलाई सीपमूलक सिकाइको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि राखिएको छ ।

प्रतिबद्धतापत्रमा विद्यार्थी, अभिभावक र समुदायको सहभागिता बढाउने, विद्यालयका असल अभ्यास आदानप्रदान गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग सहकार्य विस्तार गर्ने विषय समावेश छन् ।

संघले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयनको नियमित समीक्षा तथा अनुगमन गर्ने र त्यससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । साथै मधेस प्रदेशको शैक्षिक गुणस्तर र साक्षरता अभिवृद्धिका लागि विशेष पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सम्मेलनले विद्यालय रूपान्तरण कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने निष्कर्ष निकाल्दै यसका लागि प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सरकारबीच साझा प्रयास आवश्यक रहेको जनाएको छ ।