काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
यससँगै सुदूरपश्चिमले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ । चितवन भने दोस्रो क्वालिफायरबाटै बाहिरिएको छ ।
सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले अविजित अर्धशतकीय इनिङ्स खेले । उनले ४२ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाए । दबाबपूर्ण अवस्थामा उनको ब्याटिङले टोलीलाई जितसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
त्यस्तै, विनोद भण्डारीले १३ बलमा २३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५ रन जोड्दा आरिफ शेखले १० रन बनाए । ईशान पाण्डेले १० र फाबियन एलेनले ५ रनको योगदान दिए । दीपक बोहरा शून्य रनमा अविजित रहे ।
चितवनका लागि रञ्जित कुमारले २ विकेट लिए । कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान १–१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।
चितवनका लागि डेभिड मलानले सर्वाधिक ७१ रन बनाएका थिए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै अविजित अर्धशतक बनाए । सलाउद्दिन खानले १८ रन र कमलसिंह ऐरीले १० रन जोडेका थिए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले ३ विकेट तथा थारिन्दु रत्नायकेले २ विकेट लिएका थिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १–१ विकेट हात पारेका थिए ।
यस जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि भिडन्तमा स्थान बनाएको छ । अब सुदूरपश्चिमले उपाधिका लागि शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
चितवन राइनोज भने प्रतियोगिताबाट बाहिरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया