काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । उक्त समारोहमा नेपाली राजदूत पाण्डेसँगै ग्रीसका राजदूत जर्जियोस पेटमेजाकिस र स्पेनका राजदूत अल्फ्रेडो मार्टिनेज सेरानोले पनि प्रमाणपत्र पेस गरेका थिए ।
भारतको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा डा. पाण्डेलाई नेपालका राजदूतका रूपमा उल्लेख गर्दै उनले राष्ट्रपति मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको जनाएको छ ।
ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डे नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावास पुगेका थिए । उनले दूतावासको कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
गत मंगलबार नयाँदिल्ली पुगेका पाण्डेले करिब ४८ घण्टाभित्रै भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर १ गते मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई भारतका लागि नेपालको राजदूत नियुक्त गरेका थिए । नियुक्तिपछि सोही दिन उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
राजदूतका रूपमा जिम्मेवारी सम्हालेसँगै पाण्डेसामु नेपाल–भारत कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने, उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिने तथा द्विपक्षीय सहयोगका विविध क्षेत्रलाई अघि बढाउने जिम्मेवारी आएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बर २२ देखि हुने भनिएको भारत भ्रमणको तयारीका सन्दर्भमा पनि नयाँ राजदूतको जिम्मेवारी ग्रहणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, ऊर्जा, पूर्वाधार, पारवहन तथा जनस्तरमा बहुआयामिक सम्बन्ध रहेकाले यी क्षेत्रको सहकार्य र संवादलाई थप सुदृढ बनाउनु राजदूत पाण्डेका प्रमुख कार्यभार हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया