नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त

15 Shares

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

बिहीवार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा सेनाले श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको हो ।

नवनियुक्त प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली सेनाले सञ्चालन गरिरहेका विकास निर्माण तथा विपद् व्यवस्थापनलगायतका गतिविधिबारे आम नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

उनले भ्रामक समाचार तथा सूचनाको खण्डन गर्न पनि आफू जिम्मेवार रहने बताए । नेपाली सेना र सञ्चारजगत्बीच सुरुदेखि नै सौहार्दपूर्ण, व्यावसायिक र प्रगाढ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप पारदर्शी र प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।

सैनिक गतिविधिसम्बन्धी सूचना प्रवाह प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन भूमिका खेल्ने उनको भनाइ छ ।

‘नेपाली सेना र नेपाली सञ्चारजगत्को सम्बन्ध सुरुदेखि नै सौहार्दपूर्ण, व्यावसायिक र प्रगाढ रहँदै आएको छ । आगामी दिनमा यो सम्बन्धलाई अझ प्रगाढ, पारदर्शी र प्रभावकारी बनाउने कार्य मेरो पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।

श्रेष्ठले आम नागरिकको सूचनाको हक सुनिश्चित गर्न निवर्तमान सैनिक प्रवक्ताले निर्वाह गरेको भूमिका र सञ्चारमाध्यम तथा सञ्चारकर्मीले गरेको सहयोगको प्रशंसा गर्दै धन्यवादसमेत व्यक्त गरे ।

श्रेष्ठ २०४८ सालमा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गरेका हुन् । उनले यसअघि सेनाका विभिन्न विभागमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् ।