नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण र चुनावी रणनीति निर्माणमा जोड दिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले ७५३ वटै स्थानीय तहमा जनताका समस्या र आवश्यकताका आधारमा घोषणापत्र तयार गर्ने बताएका छन् ।
एमाले नेताहरूले स्थानीय स्तरबाटै लोकप्रिय उम्मेदवार छनोट गर्ने, युवालाई अवसर दिने र निर्वाचनभन्दा कम्तीमा एक महिनाअघि नै उम्मेदवार टुंग्याउने नीति लिनुपर्नेमा जोड दिएका छन् ।
पूर्वसांसद नविना लामाले उम्मेदवार छनोटमा आर्थिक चलखेल, पक्षपात र व्यक्तिगत स्वार्थ अन्त्य गर्दै योग्य तथा जनतामाझ लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले विगतमा गुमेको जनविश्वास फर्काउन पार्टी नेतृत्वले कमजोरीको समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले स्थानीय तहमा एमालेका जनप्रतिनिधिले गरेका कामलाई चुनावी आधार बनाउने बताउनुभयो। उहाँले नेतृत्व र कार्यकर्ताबीचको दूरी घटाउँदै युवालाई उम्मेदवारीमा प्राथमिकता दिने उल्लेख गर्नुभयो ।
नेता गणेश पहाडीले विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई सामूहिक छलफल र निर्णय प्रणालीबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो। आदेश र निर्देशनका भरमा पार्टी चलाउने प्रवृत्तिमा सुधार आवश्यक रहेको उहाँको भनाइ छ । नेतृ टीका ढकालले पनि जनतासँग कमजोर बनेको सम्बन्ध सुधार गर्दै पार्टीलाई पुनः बलियो बनाउनुपर्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया