रवि–बालेनको नाम बेचेर रास्वपा माननीयको नयाँ तमासा

22 Shares

काठमाडौं । जनताका समस्या संसद्मा उठाउनुपर्ने माननीय रास्वपा सांसद पारसमणि गेलाल पछिल्लो समय भने आफ्नै अभिव्यक्ति र अनौठा गतिविधिका कारण चर्चामा छन् । कहिले मेयरलाई सरुवा गर्नुपर्ने अभिव्यक्ति, कहिले मतदातासँगको भनाभन त कहिले सामाजिक सञ्जालमा विवादास्पद चर्चाले उनलाई पछ्याइरहेको छ । अहिले फेरि उनी अर्को नयाँ घोषणाका कारण चर्चामा आएका छन् ।

यसपटक सांसद गेलालले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् । गेलाल गत आम निर्वाचनमा उदयपुर १ बाट रास्वपा निर्वाचित सांसद हुन् ।

गेलालको सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार निर्वाचनका क्रममा प्रधानमन्त्री शाह, पार्टी सभापति लामिछाने, सांसद गेलाल र अर्का सांसद सूर्य लामासँग खिचिएका उत्कृष्ट तस्बिर तथा भिडियो पठाउनेमध्ये तीन जनालाई पुरस्कार दिइनेछ । पुरस्कारको रकम भने पछि सार्वजनिक गरिने भनिएको छ ।

अर्थात् अब नेतासँग फोटो खिच्नुभयो, फेसबुकमा पोस्ट गर्नुभयो र उत्कृष्ट ठहरिनुभयो भने पुरस्कारसमेत पाइने भयो । सांसदको यो घोषणाले सामाजिक सञ्जालमा व्यंग्य र आलोचना सुरु भएको छ ।

तर गेलालको चर्चा यो पहिलो पटक भने होइन । यसअघि ‘मेयरलाई सरुवा गर्नुपर्छ’ भन्ने आशयको फोन संवादका कारण उनी विवादमा तानिएका थिए । मतदातासँगको भनाभनका घटनाले पनि उनको आलोचना भएको थियो ।

सांसदको काम जनताको समस्या उठाउने हो कि नेतासँग खिचिएका फोटोको प्रतियोगिता आयोजना गर्ने ? जनप्रतिनिधिको पद केवल माननीयको सम्बोधन र सामाजिक सञ्जालमा चर्चा कमाउने माध्यम मात्रै हो ?

जनताले सांसदबाट खोजेको अपेक्षा विकास, सुशासन, रोजगारी र आफ्ना समस्याको समाधान हो । तर जनप्रतिनिधि नै पटक–पटक विवाद र प्रचारमुखी गतिविधिमा जोडिन थालेपछि उनीहरूको सार्वजनिक जिम्मेवारी र संसदीय मर्यादामाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

अझ रोचक त के छ भने, नेतासँग खिचिएको फोटो उत्कृष्ट बनाउने प्रतियोगिता त आयोजना भयो, तर जनताको जीवनमा परिवर्तन ल्याउने कामको प्रतिस्पर्धा कहिले हुने ?

नेतासँगको फोटोले पुरस्कार जितिएला, सामाजिक सञ्जालमा चर्चा पनि पाइएला । तर सांसदज्यू, जनताको मन जित्न भने फोटो होइन, काम नै चाहिन्छ,होइन र !