काठमाडौं । डोल्पाको शे–फोक्सुन्डो तालतर्फ आउँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन्।
डोल्पो बुद्ध गाउँपालिकाबाट धो हुँदै फोक्सुन्डो ताल फर्किने क्रममा शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ बीच पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएको बताइएको छ।
प्रतिकूल मौसमका कारण पर्यटकहरू हिउँमा फसेको हुन सक्ने आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ। साथै, नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिएकी छन्।
अत्यधिक हिमपात र सञ्चार सम्पर्क स्थापित हुन नसक्दा पर्यटकहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक रहेका छन्। प्रशासनले सबै पर्यटकलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया