काठमाडौँ । बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा सडक दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ ।
त्यसैगरी, काभ्रे खण्डको बिपी राजमार्ग पनि अवरुद्ध भएको छ । आज बिहान ४ः५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
आज बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुक्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा रोकिएको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्ड पनि अवरुद्ध भएको छ । यसैगरी, ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डमा समेत आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–२ बल्खु, सुन्दरीघाटस्थित करिडोरको सडकमा अविरल वर्षाका कारण पानीको बहाव बढेपछि आवागमन पूर्ण रूपमा रोकिएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
त्यसैगरी, पाल्पाको रामपुर नगरपालिका–१ कासिबनस्थित कालीगण्डकी करिडोरको पक्की सडकमा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा आवागमन पूर्ण रूपमा रोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ । बाढीपहिरोका कारण अन्य सडकखण्डमा समेत यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया