काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन्।
शुक्रबार साँझ सिद्ध कुमाख गाउँपालिका–२ स्थित रातामाटेमा श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु।१ ज २३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोलामा खसेको हो।
दुर्घटनामा परेका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।
दुर्घटनामा घाइते भएकामध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको छ। प्रहरीले जिप चालक ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया