एनपीएल: अंक तालिकाको शीर्ष स्थानमा कर्णाली याक्स, साबिक विजेता लुम्बिनी दोस्रो

8 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत हालसम्मका खेलमा कर्णाली याक्सले शतप्रतिशत जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ ।

दुई खेल खेलेको कर्णालीले दुवै खेलमा जित हासिल गर्दै ४ अंक जोडेको छ । ०.५३३ नेट रनरेट रहेको कर्णाली अन्य टोलीभन्दा अगाडि छ ।

त्यस्तै, साबिक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजले पनि प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । एक खेल खेलेका दुवै टोलीले जित निकाल्दै समान २ अंक जोडेका छन् । लुम्बिनी ४.५९९ को उत्कृष्ट नेट रनरेटसहित दोस्रो स्थानमा रहँदा ०.४०० नेट रनरेट रहेको चितवन तेस्रो स्थानमा छ ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले भने दुई खेलबाट समान २ अंक जोडेका छन् । दुवै टोलीले एक खेलमा जित र एक खेलमा हार बेहोरेका छन् । नेट रनरेटका आधारमा जनकपुर चौथो र सुदूरपश्चिम पाँचौँ स्थानमा छन् ।

अंक तालिकामा विराटनगर किंग्सको अवस्था भने कमजोर देखिएको छ । दुई खेल खेलेको विराटनगरले दुवै खेलमा हार बेहोरेको छ । त्यस्तै, एक–एक खेल खेलेका काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सले पनि जितको खाता खोल्न सकेका छैनन् ।

प्रतियोगितामा सहभागी आठ टोलीमध्ये हालसम्म कर्णाली याक्सले मात्र दुवै खेल जितेको छ । लुम्बिनी र चितवनले पहिलो खेलमै जित निकाल्दा विराटनगरसहित तीन टोलीले भने अझै अंक जोड्न सकेका छैनन् ।