दसैँ बिदामा पनि अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

8 Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।

दसैँ बिदामा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ । सेवाग्राहीलाई उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा मौज्दात राख्नसमेत भनिएको छ ।

मन्त्रालयकाअनुसार बिदाको समयमा स्वास्थ्य सेवा प्रवाहमा देखिन सक्ने समस्या र सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्नेछ । उक्त व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेल ठेगानामा पठाउन पनि निर्देशन दिइएको छ ।

दसैँ बिदामा नागरिकले सहज रूपमा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, सेवा सञ्चालनको अवस्था अनुगमन गरी अत्यावश्यक उपचारमा कुनै अवरोध हुन नदिनसमेत जोड दिएको छ ।

चाडपर्वका बेला हुन सक्ने दुर्घटना तथा अन्य आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै अस्पतालको सेवा नियमित राख्न मन्त्रालयले यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।