कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

16 Shares

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) तर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।

दुई पदका लागि भएको निर्वाचनमा नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा खतिवडा र शिवाकोटीले सर्वाधिक मत प्राप्त गर्दै बाजी मारेका हुन् ।

मतपरिणामअनुसार खतिवडाले २ हजार ९१० मत प्राप्त गर्दा शिवाकोटीले २ हजार १७३ मत पाए । मतगणनाको सुरुदेखि नै दुवै उम्मेदवारले अग्रता कायम गरेका थिए ।

ओखलढुंगाका खतिवडा पछिल्लो समय पार्टी संस्थापन पक्षसँग निकट थिए । उनी गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् । खतिवडा २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै, दोलखाका शिवाकोटी प्रेस युनियनको महासचिव पद छाडेर पार्टी राजनीतिमा सक्रिय भएका थिए । उनी पनि १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विशेष महाधिवेशनबाट समेत उनी केन्द्रीय सदस्य बनेका थिए ।

सहमहामन्त्री (खुला) तर्फ प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारमध्ये डिल्लीराम सुवेदीले १ हजार ८५२, देवेन्द्रराज कँडेलले १ हजार ३८१, राजीव ढुंगानाले १ हजार २३२, विकास कोइरालाले १ हजार १४४ र अमृतकुमार अर्यालले ९२१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, रमेशप्रसाद धमलाले ७८० र विमलराज क्षेत्रीले २८३ मत प्राप्त गरेका छन् ।