गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको विशाल पहिरोले बुढीगण्डकी नदीको बहाव रोकेपछि आएको आकस्मिक बाढीले उत्तरी गोरखाका विभिन्न बस्तीमा ठूलो क्षति पु¥याएको छ । लोक्पा र चुम्लिङबीचको क्षेत्रमा गएको पहिरोले नदी थुनिएर बनेको अस्थायी प्राकृतिक बाँध खुलेपछि लेदोसहितको बाढी आएको प्रारम्भिक विश्लेषणमा उल्लेख गरिएको छ ।
यस घटनाले नदी थुनिएर बाढी आएको सिन्धुपाल्चोकको जुरे पहिरोको त्रासलाई पुनः सम्झाएको छ । नेपाल मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भूउपग्रहबाट प्राप्त तस्बिर अध्ययन गर्दा शनिबार साँझ नै पहिरो गएको देखिएको जनाएको छ । कमजोर भूबनोट, भिरालो जमिन र साँघुरा खोँचका कारण पहिरोले नदी थुन्ने र त्यसपछि एक्कासि बाढी आउने जोखिम रहन्छ ।
२०७२ सालको गोरखा भूकम्पको केन्द्रविन्दु नजिक पर्ने यस क्षेत्रको भूधरातलीय जोखिमले पनि चिन्ता बढाएको छ । बाढीले घरबस्ती, पुल, विद्यालय र जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले घटनाको कारण पत्ता लगाउन ड्रोनसहित भूगर्भविद्को तीन सदस्यीय टोली परिचालन गरेको छ ।
सडक पुनः सञ्चालन र बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययनका लागि पनि प्राविधिक टोली खटाइएको छ । चुमनुब्रीको यो घटनाले पहिरोको जोखिम रहेका हिमाली क्षेत्रमा विपत् पूर्वतयारी, नदीको निगरानी र सुरक्षित उद्धार व्यवस्थाको महत्त्व फेरि उजागर गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया