रोजगारीको लक्ष्य एक लाख, युवालाई सीप र कामसँग जोड्ने सरकारको योजना

82 Shares

रोजगारीको खोजीमा रहेका युवालाई स्वदेशमै काम गर्ने अवसर उपलब्ध गराउने उद्देश्यसहित सरकारले आन्तरिक रोजगारी विस्तारलाई प्राथमिकता दिएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले चालु आर्थिक वर्षमा एक लाख जनालाई रोजगारीमा जोड्ने लक्ष्य रहेको बताएका छन् ।

मन्त्री यादवले रोजगारदाता र काम खोज्ने व्यक्तिबीचको दूरी कम गर्न रोजगार मिलान प्रणाली प्रभावकारी बनाउने योजना अघि सारेका छन् । यस प्रणालीबाट काम खोज्ने व्यक्तिको सीप र रोजगारदाताको आवश्यकताबीच तालमेल मिलाउने सरकारको उद्देश्य रहेको छ । यसका लागि सरकारले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत १२ वटा प्रमुख कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

रोजगारीको अवसर विस्तार गर्न सरकारले सीप तथा रोजगार मेलामार्फत पनि रोजगारदाता र काम खोज्ने व्यक्तिलाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ । साथै, राष्ट्रिय रोजगार नीतिलाई समयअनुकूल बनाउने र आन्तरिक रोजगारीका अवसर बढाउन आवश्यक कानुनी व्यवस्था अघि बढाउने काम भइरहेको छ ।