तातोपानी नाका सञ्चालनका लागि चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल

16 Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले सडक तथा पूर्वाधार पुनःस्थापनाको कामलाई तीव्रता दिएको जानकारी दिनुभयो।

मन्त्री लम्सालका अनुसार तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष पूर्ण रूपमा तयार रहेको छ। नेपाली भूभागतर्फ नाका सञ्चालनमा कुनै ठूलो समस्या नरहेको भए पनि चिनियाँ पक्षबाट अझै सञ्चालनको अनुमति अर्थात् ‘ग्रिन सिग्नल’ प्राप्त नभएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी चीन पक्षसँग नियमित संवादमा छौँ। दैनिकजसो नै संवाद भइरहेको छ। तर उहाँहरू अझै तयार भइसक्नुभएको छैन। विपद्को अवस्थामा नाका सञ्चालन गर्नका लागि उहाँहरूले अझै ग्रिन सिग्नल दिइसक्नुभएको छैन। हामी प्रयास गरिरहेका छौँ। मलाई लाग्छ, चाँडै नै नाका खोल्न सफल हुनेछौँ।”

मन्त्री लम्सालले रसुवागढी नाका पुनः सञ्चालनका लागि समेत सरकारले आवश्यक योजना बनाइरहेको बताउनुभयो। चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको रसुवागढीलाई पुनः सञ्चालनमा ल्याउन पूर्वाधार पुनःस्थापनालाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ।

त्यस्तै, सरकारले नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी तथा स्याटेलाइट सिटीका रूपमा विकास गर्ने योजना अघि सारेको मन्त्री लम्सालले जानकारी दिनुभयो। यसका लागि आवश्यक मास्टर प्लान तयार गर्ने काम अघि बढाइने उहाँले बताउनुभयो।

विपद्पछिको पुनःनिर्माणसँगै सीमा नाका र व्यापारिक पूर्वाधारलाई व्यवस्थित तथा सुरक्षित बनाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री लम्सालको भनाइ छ।