सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

20 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गरेका हुन् । यो कुल सदरमतको ८२ दशमलव २८ प्रतिशत हो ।

वडा अधिवेशनबाटै शर्माको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो । उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए ।

कांग्रेसको १५औँ महाधिवेशनमा शर्मा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा हुँदै आएको छ । पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला उनले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ ।

स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय कांग्रेसभित्र नेतृत्वको भूमिकालाई लिएर पनि चर्चामा छन् ।

शर्मा कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय रहेको बताइएको छ । १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन् ।

वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ ।

महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको उम्मेदवारीसम्बन्धी चासोलाई थप बढाएको छ ।

शर्माले राजनीति जनतासँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने बताउँदै आएका छन् । जनताका समस्या र आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा रहेको छ ।