काठमाडौंमा मात्र इण्डक्सन चुलो चलाउन ३ हजार मेगावाट अतिरिक्त विद्युत चाहिने

21 Shares

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नेपालमा कुल ऊर्जा खपतको करिब ८० प्रतिशत तापीय क्षेत्रमा हुने भएकाले विद्युतीकरणसँगै खाना पकाउने तथा औद्योगिक तापीय ऊर्जालाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न आवश्यक रहेको जनाएको छ ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै केन्द्रका उपकार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले घरायसी खाना पकाउने ऊर्जा तथा उद्योगमा प्रयोग हुने खनिज इन्धनलाई स्वच्छ ऊर्जाले प्रतिस्थापन गर्नुपर्ने बताए ।

केन्द्रले हाल तराईका १ सय ५० स्थानीय तहसँगको सहकार्यमा १० लाख घरधुरीमा स्वच्छ खाना पकाउने चुलो वितरण कार्यक्रम सञ्चालन गरिरहेको अधिकारीले जानकारी दिए । उक्त लक्ष्य आगामी तीन वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको उनले बताए ।

‘अहिले हाम्रो समग्र राष्ट्रिय ऊर्जाको खपत हेर्ने हो भने करिब ८० प्रतिशतभन्दा बढी ऊर्जाको खपत तापीय क्षेत्रमा हुने गर्दछ । तापीय क्षेत्र भन्नाले घरभित्रका खाना पकाउने र उद्योगधन्दाहरूमा तापीय ऊर्जा प्रयोगको लागि हुने गरेको छ । विद्युतीकरणको मात्र कुरा आउने हुँदाखेरि हामी वास्तवमा तापीय ऊर्जामा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ,’ अधिकारीले भने ।

उनका अनुसार स्वच्छ खाना पकाउने चुलो कार्यक्रमअन्तर्गत तराईका १ सय ५० स्थानीय तहसँग सहकार्य गरी १० लाख घरधुरीलाई समेटिएको छ । लक्ष्यअनुसार १० लाख चुलो वितरणको काम अघि बढिरहेको र थप २ लाख चुलो वितरणको प्रक्रियामा रहेको उनले बताए ।

‘हाम्रो लक्ष्य १० लाख हो । जसको लागि १० लाख चुलोहरू गइसकेका छन् भने अब दुई लाख जाने प्रक्रियामा रहेका छन् । यो लक्ष्य अबको तीन वर्षभित्रमा पूरा गर्नको लागि कटिबद्ध भएर लागेका छौँ,’ अधिकारीले भने ।

राष्ट्रियस्तरमा जैविक ऊर्जाको खाका तयार भइरहेको र त्यसले उद्योगमा खनिज इन्धनको प्रयोग घटाउन सहयोग गर्ने उनले बताए ।

त्यस्तै, दुर्गम तथा विद्युतीकरणबाट वञ्चित क्षेत्रमा ‘लास्ट माइल इलेक्ट्रिफिकेसन’ कार्यक्रम सञ्चालन भइरहेको अधिकारीले जानकारी दिए । कर्णाली, सुदूरपश्चिम तथा पूर्वी पहाडी जिल्लामा नवीकरणीय ऊर्जा अनुदान नीतिअन्तर्गत केन्द्र सरकारको ८० प्रतिशत र स्थानीय तहको २० प्रतिशत योगदानमा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

विद्युतीय चुलोको प्रयोग बढाउन नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको भए पनि विद्यमान विद्युत् पूर्वाधारमा तत्काल सबै घरधुरीलाई इन्डक्सन चुलोमा रूपान्तरण गर्दा प्रणालीमा उच्च भार पर्ने उनले बताए ।

काठमाडौं उपत्यकाका सबै घरधुरीले इन्डक्सन चुलो प्रयोग गर्ने अवस्था आए खाना पकाउने करिब दुई घण्टाको अवधिमा करिब ३ हजार मेगावाट अतिरिक्त विद्युत् आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको अधिकारीले बताए ।