ओखलढुंगा । निरन्तरको वर्षापछि खसेको पहिरोले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ स्थित फूलमति माध्यमिक विद्यालयको भवनमा क्षति पुर्याएको छ।
इलाका प्रहरी चौकी परिसरको डिल भत्किएर खसेको पहिरो विद्यालय भवनसम्म पुगेपछि कक्षाकोठामा क्षति भएको हो। पहिरोले दुईवटा झ्याल फुटाउनुका साथै कक्षाकोठाभित्र लेदो र माटो पसेको छ।
विद्यालयका प्रधानाध्यापक रुद्रशंकर घिमिरेका अनुसार पहिरोले १५ जोर डेस्क–बेन्चमा समेत क्षति पुगेको छ। विद्यालयमा बिदा भएका कारण विद्यार्थी तथा शिक्षक उपस्थित नभएकाले मानवीय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो।
इलाका प्रहरी कार्यालय परिसरको डिल अझै चर्किरहेको र वर्षा निरन्तर भइरहेकाले थप पहिरो खस्ने जोखिम कायमै रहेको विद्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया