काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली काँग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले आगामी १५ औं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण समयमा सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।
महामन्त्री पौडेलले काँग्रेस कार्यकर्ताहरूलाई सम्बोधन गर्दै पार्टीभित्रको निराशालाई चिर्नुपर्ने बताउनु भयो । महामन्त्री पौडेलले पार्टी पंक्तिलाई निराश नहुन आग्रह गर्दै उत्साहित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्नुभयो । उहाँले काठमाडौं महानगरलाई सन्देश दिने केन्द्रका रूपमा व्याख्या गर्दै यहाँबाट गरिने निर्णय र सक्रियताले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सत्तारुढभन्दा प्रमुख प्रतिपक्ष पार्टी नेपाली काँग्रेस बढी जिम्मेवार र परिपक्व हुनुपर्ने स्थिति छ । तसर्थ, हामीले जिम्मेवार ढंगबाट भुमिका खेल्ने वातावरण बनाउनुपर्छ र १५ औं महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले यस चुनौतीपूर्ण भुमिकालाई सशक्त ढंगले निर्वाह गर्ने विश्वास छ ।’
महामन्त्री पौडेलले पार्टीको १५ औं महाधिवेशनमा निःवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी गराउने इच्छा पार्टीको रहेको पनि व्यक्त गर्नुभयो ।
पार्टीका सबै नेतालाई समेट्दै अघि बढ्ने काँग्रेसको योजना रहेको बताउनु भयो । महामन्त्री पौडेलले पार्टीभित्र देखिएका असन्तुष्टि र दूरीलाई कम गर्दै सबैलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार, पार्टीभित्रको एकतासँगै काँग्रेसको नेतृत्वमा देशको विकास र परिवर्तन सम्भव छ भन्ने विश्वास जनतामा जगाउनु अहिलेको आवश्यकता हो । कसैलाई अपमान गर्ने वा ठेस पु¥याउने आफ्नो कुनै मनशाय नभएको स्पष्ट पार्दै पौडेलले सबैको आदर र सम्मानका साथ पार्टी निर्माणमा लाग्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केही नेताहरू अझै बाहिर हुनुहुन्छ, हामी उहाँहरूलाई पनि आग्रह गरिरहेका छौं कि पार्टीको मूलधारमा आइदिनुहोस् । नेपालको परिवर्तन प्रक्रियाको नेतृत्व नेपाली काँग्रेसले नै गर्न सक्छ, त्यो क्षमता र ल्याकत काँग्रेससँग छ । यसलाई आम नेपाली समाजमा थप विश्वसनीय बनाउनु नै हाम्रो प्रमुख ध्येय हो ।’
महामन्त्री पौडेलले पार्टीभित्रका नेताहरू मात्र नभएर काँग्रेस बाहिर रहेका शुभेच्छुक तथा अन्य व्यक्तिहरूलाई पनि पार्टीमा आकर्षित गर्ने वातावरण निर्माण गरिरहेको जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया