सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाइँदै

12 Shares

काठमाडौं। हिन्दु महिलाहरूले आज भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धती सहित सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको  पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्।

यस दिन महिलाहरू बिहानै नदी, तलाउ, धारा वा अन्य पवित्र जलाशयमा गई स्नान गर्ने गर्छन्। परम्पराअनुसार स्नानअघि शरीर शुद्धिका लागि माटो, कुश तथा दतिवन प्रयोग गर्ने र स्नानपछि स्वच्छ वस्त्र धारण गरी सप्तऋषि तथा अरुन्धतीको पूजा गर्ने चलन छ।

त्यसपछि कलश वा थालीमा सप्तऋषिको प्रतीक स्थापना गरी जल, अक्षता, फूल, चन्दन, धूप–दीप तथा नैवेद्य अर्पण गरिन्छ। धार्मिक मान्यताअनुसार ऋषि पञ्चमी व्रत आत्मशुद्धि, संयम र ऋषिहरूप्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो।

पूजा तथा व्रतपछि महिलाहरूले सप्तऋषिको स्मरण गर्दै परिवारको सुख, शान्ति तथा समृद्धिको कामनासमेत गर्ने गर्छन्।