काठमाडाैं । मुस्ताङमा मंगलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ शुरु हुँदैछ।
सम्मेलनको मंगलबार कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे हाे । सम्मेलनमा भाग लिन ४ सय २१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङमा पुगिसकेका छन् । सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार भन्दा बढी अतिथि मुस्ताङ पुगेको घरपझोङ गाउँपालिकाले जनाएकाे हाे ।
सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले बताउनुभयाे। सम्मेलनस्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ ।
मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाले जनाएकाे हाे। दुई दिनसम्म संचालन हुने सम्मेलनले जलवायु परिवर्तनको असर सम्वन्धी घोषणापत्र जारी गर्ने भएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया