अमेरिकी सहयोगमार्फत नेपालमा लोकतान्त्रिक प्रणालीमाथि प्रभाव पार्ने प्रयास भइरहेको छ: भाइराजा पाण्डे

15 Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)का पूर्वनिर्देशक भाइराजा पाण्डेले अमेरिकी सहयोग र लगानीमार्फत नेपालमा अमेरिकी शैलीको लोकतान्त्रिक प्रणाली प्रवद्र्धन गर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

उनका अनुसार अमेरिकाले विश्वभर आफ्नो लोकतान्त्रिक प्रणालीलाई उत्कृष्ट ठान्दै विभिन्न कार्यक्रम र आर्थिक सहयोगमार्फत अन्य मुलुकका राजनीतिक तथा लोकतान्त्रिक संरचनामा प्रभाव पार्ने प्रयास गर्दै आएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले नेपालमा पनि अमेरिकी सहयोगका विभिन्न कार्यक्रममार्फत निर्वाचन प्रणाली, युवा नेतृत्व तथा लोकतान्त्रिक मूल्य–मान्यतासम्बन्धी प्रशिक्षण सञ्चालन हुँदै आएको बताए । उनका अनुसार यस्ता कार्यक्रमले अमेरिकी लोकतान्त्रिक अवधारणालाई अन्य मुलुकमा विस्तार गर्ने उद्देश्य बोकेको देखिन्छ ।

‘अमेरिकाले जुनसुकै देशमा पनि लोकतन्त्र स्थापना र प्रवद्र्धनका लागि सहयोग गर्नुपर्छ भन्ने सोच राख्छ,’ पाण्डेले भने, ‘उनीहरू आफ्नो प्रणालीभन्दा राम्रो व्यवस्था संसारमा हुन सक्छ भन्ने विश्वास गर्दैनन्। त्यसैले विश्वलाई पनि आफ्नै प्रणालीको दृष्टिकोणबाट हेर्ने गर्छन् ।’

पाण्डेले नेपालमा अमेरिकी लगानी र सहयोग विभिन्न राजनीतिक तथा लोकतान्त्रिक कार्यक्रममार्फत भित्रिएको उल्लेख गर्दै त्यसबाट नेपाली राजनीतिक नेतृत्वसमेत लाभान्वित भएको आरोप लगाए । उनका अनुसार ‘कन्सोर्टियम फर इलेक्सन एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ’ (सीईपीपीएस) जस्ता कार्यक्रममार्फत निर्वाचन प्रणाली, युवा वर्ग र लोकतान्त्रिक मूल्य–मान्यतासम्बन्धी प्रशिक्षण सञ्चालन हुँदै आएको छ ।

‘हाम्रो देशमा पनि अमेरिकी पैसा खर्च भएको छ, नभएको होइन,’ उनले भने, ‘धेरै राजनीतिक नेतृत्वले त्यसबाट लाभ लिएका छन् । अहिलेका नेताहरू पनि त्यस्ता कार्यक्रम र सहयोगबाट टाढा छैनन् । सीईपीपीएसअन्तर्गत निर्वाचन संयन्त्रलाई तालिम दिने, युवालाई प्रशिक्षण गर्ने र अमेरिकी शैलीका लोकतान्त्रिक मूल्यहरू स्थापित गर्ने काम भइरहेको छ ।’

पाण्डेले अमेरिकाले विभिन्न देशमा गरेको सैन्य हस्तक्षेपसमेत आफ्नै राजनीतिक व्यवस्था र राष्ट्रिय हितको संरक्षणसँग जोडिएको दाबी गरे । उनका अनुसार अमेरिकाले विगतमा गरेका धेरैजसो युद्ध र हस्तक्षेपहरू लोकतन्त्रको नाममा भए पनि त्यसको मूल उद्देश्य आफ्नो प्रभाव र व्यवस्था जोगाउनु नै रहेको देखिन्छ ।

‘भियतनाममा अमेरिकाको उपस्थितिको कारण पनि लोकतन्त्र स्थापना भनिएको थियो,’ उनले भने, ‘तर विश्वका धेरै घटनालाई हेर्दा अमेरिकाले आफ्नो व्यवस्था र हित सुरक्षित राख्न प्राथमिकता दिएको देखिन्छ ।’

पाण्डेको भनाइले अमेरिकी सहयोग, लोकतन्त्र प्रवद्र्धनका कार्यक्रम र त्यसले नेपालजस्ता मुलुकको राजनीतिक प्रणालीमा पार्ने प्रभावबारे नयाँ बहस सिर्जना गरेको छ । उनले नेपालको लोकतान्त्रिक अभ्यास र राजनीतिक प्रक्रियामा विदेशी प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा समेत व्यक्त गरेका छन् ।