हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य हुनुपर्छः आईजीपी कार्की

12 Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायत प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् ।

ट्राफिक प्रहरीलाई सवारीसाधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उनले बताए ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

‘सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ । एआई–इनेबल्ड सीसीटीभी, व्यवस्थित बस स्टप, बस पार्क, पार्किङ स्टेसन तथा वैज्ञानिक पार्किङ व्यवस्थापनमा जोड दिन आवश्यक छ’, उनले भने ।

कार्कीले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बढ्दो जनसंख्या, सहरीकरण र सवारी चापसँगै सार्वजनिक स्थान व्यवस्थापन, फोहोरमैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापनमा स्थानीय तह र नेपाल प्रहरीबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

फोहोरमैला व्यवस्थापनमा उत्पादनस्थलदेखि अन्तिम व्यवस्थापनस्थलसम्मै चुनौती रहेकाले त्यसको प्रभावकारी समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै कार्कीले ७५३ वटै स्थानीय तहलाई नेपाल प्रहरीसँग समन्वय गर्न पत्राचार भइरहेको बताए ।

स्थानीय तहले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन तथा विपद् उद्धार सामग्री उपलब्ध गराउने र सीसीटीभी जडान तथा विस्तारमा सहयोग गर्नुपर्ने उनले बताए ।

‘स्थानीय तहहरूले नेपाल प्रहरीलाई आवश्यकताअनुसार जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण र मर्मतमा सहयोग गर्ने, सवारी साधन तथा विपद् उद्धार सामग्री उपलब्ध गराउने, सीसीटीभी जडान तथा विस्तार गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेजस्ता कामले सुरक्षा सेवालाई थप प्रभावकारी बनाउँछ’, उनले भने ।

यस्तो सहकार्यले नेपाल प्रहरी, महानगर प्रहरी र नागरिकबीचको समन्वय थप सुदृढ हुने कार्कीले बताए ।

उनले नागरिकलाई सफा सडकमा हिँड्न पाउने र फुटपाथ अवरोधरहित रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न महानगरपालिकाले गरिरहेको कामको प्रशंसा गरे ।

‘अहिले पहिलेको जस्तो असरल्ल फोहोरको थुप्रो देख्न नपर्ने र सफा सडकमा हिँड्न पाउने अवस्था बनेको छ । स्वच्छ र अवरोधरहित सार्वजनिक स्थानमा हिँड्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो’, उनले भने ।

राजधानीको सहरी व्यवस्थापनमा महानगरपालिकाको कार्यसम्पादनले समग्र सहरी व्यवस्थापनको स्तरसमेत झल्काउने कार्कीको भनाइ छ ।

आगामी दिनमा महानगरपालिका र सुरक्षा निकायबीच थप योजना र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन तथा आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे ।