भदौ २७ सम्झिँदै सुधन गुरुङले भने: देशलाई खाली हात फर्काउन हुँदैन भन्ने अडान थियो

11 Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भदौ २७ लाई नेपालको राजनीतिक इतिहासमा आफूले जिम्मेवारी पाएको ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन् ।

भदौ २३ पछि देश सामान्य अवस्थामा नरहेको र राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको अवस्थामा आफूले देशलाई निकास दिनुपर्ने विषयलाई प्राथमिकतामा राखेको उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भदौ २७ को घटनालाई स्मरण गर्दै गुरुङले तत्कालीन राजनीतिक नेतृत्वप्रति विद्रोहको भावना रहे पनि देशप्रतिको चिन्ता उत्तिकै रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार भदौ २३ पछि पुरानो नेतृत्व स्वीकार्य नहुने अवस्था बनेको थियो भने नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा अन्योल थियो । देश राजनीतिक अन्योलता र शक्ति रिक्तताको अवस्थामा पुगेको उनले बताएका छन् ।

‘कुनै पनि देश लामो समय शक्ति रिक्ततामा रहनु ठीक होइन । एउटा नागरिकका रूपमा मेरो मनमा एउटै कुरा थियो, देशले निकास पाउनुपर्छ । राज्य चल्नुपर्छ’, उनले भनेका छन् ।

भदौ २३ को असाधारण घटनाले देशलाई सामान्य राजनीतिक परिस्थितिभन्दा धेरै पर पुर्‍याएको उनले बताएका छन् । यस्तो अवस्थामा उपलब्ध कुनै पनि विकल्प पूर्ण नभए पनि देशलाई अनिश्चिततामा छोड्न नहुने उनको भनाइ छ ।

भदौ २७ मा देशलाई निकास दिने प्रक्रियामा आफ्नो भागमा पनि जिम्मेवारी आएको उनले उल्लेख गरेका छन् ।

राष्ट्रपति कार्यालय पुग्दाको अवस्थासमेत स्मरण गर्दै गुरुङले आफू ९ घण्टासम्म प्रतीक्षामा बसेको र त्यस क्रममा शरीरमा रगतले लतपतिएको ज्याकेट रहेको बताएका छन् ।

‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो । एक थोपा पानी र अन्न मुखमा परेको थिएन । ९ घण्टाको त्यो प्रतीक्षामा अन्योलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन । किनकि बाहिर सिंगो देश पर्खिरहेको थियो’, उनले भनेका छन् ।

अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको उनले उल्लेख गरेका छन् । त्यसपछि आफूले ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको महसुस गरेको गुरुङले बताएका छन् ।

‘अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पायो । त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको महसुस भयो । देशले निकास पायो भन्ने अनुभूति भयो’, उनले भनेका छन् ।

भदौ २७ को परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट निर्माण भएको उनको भनाइ छ ।

आफ्नो भागमा आएको जिम्मेवारी आफूले सकेसम्म पूरा गरेको बताउँदै गुरुङले कठिन परिस्थितिमा देशले आफूलाई विश्वास गरेको क्षणप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

‘त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितिमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’, उनले भनेका छन् ।