जेनजी विद्रोहपछि पनि जनतामा आशा जाग्ने काम हुन सकेन : राजेन्द्र लिङदेन

10 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेनजी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् ।

जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले जेनजी विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताए ।

जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको उनले दाबी गरे ।

‘जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन । बरु, देशमा आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ । राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ’, उनले भने ।

लिङदेनले राजनीतिक परिस्थितिमा झन् तरलता बढेको र मुलुकको भविष्यबारे अनिश्चयसमेत गहिरिँदै गएको बताए ।

जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसक्दा जेनजी विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन नसकेको उनको भनाइ छ ।