काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको वैकल्पिक व्यवस्था गर्नुपर्ने बताएका छन् ।
चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उनले वैकल्पिक रूपमा सुरुङ निर्माण गरेर पानी निकास गर्ने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिएका छन् ।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रेष्ठले काठमाडौंका विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने बताए ।
चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने उनले बताए ।
‘काठमाडौं उपत्यका पनि जोखिममुक्त छैन । यहाँ ठूलो जनघनत्व छ र धेरै ठाउँबाट पानी आएर अन्ततः चोभारतर्फ निकास हुन्छ । चोभारको निकास क्षमता पर्याप्त नभए ठूलो विपद् निम्तिन सक्छ’, उनले भने ।
काठमाडौंको बाढी जोखिम कम गर्न अहिले निर्माण भइरहेका लामो सुरुङलाई वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने श्रेष्ठले बताए । छुट्टै सुरुङ निर्माण गरेर पानीलाई अर्को दिशातर्फ निकास दिन सकिने सम्भावनाबारे पनि महानगरपालिकाले अध्ययन गर्नुपर्ने उनको सुझाव छ ।
‘चोभारको जोखिम कम गर्न वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे पनि अध्ययन गरौँ । अहिले विभिन्न ठाउँमा लामो सुरुङहरू निर्माण भइरहेका छन् । त्यस्तै कुनै वैकल्पिक निकासको व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा पनि ध्यान दिन आवश्यक छ । चोभारमा मात्रै निर्भर हुँदा भविष्यमा समस्या आउन सक्छ । त्यसैले सम्भावित विपद् आउनुअघि नै वैकल्पिक उपाय खोज्नु बुद्धिमानी हुन्छ’, उनले भने ।
श्रेष्ठले पछिल्ला बाढीपहिरोका घटनालाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङसँग जोड्दै नेपालले त्यसको असर गम्भीर रूपमा भोगिरहेको बताए ।
विकास आवश्यक भए पनि वातावरणीय प्रभावलाई बेवास्ता गरेर हुने अव्यवस्थित विकासले समस्या थपिरहेको उनले बताए । अत्यधिक औद्योगिकीकरण र वातावरण विनाशको असर नेपालजस्ता मुलुकले समेत भोग्नुपरेको उनको भनाइ छ ।
रसुवाको भोटेकोशी तथा सोलुखुम्बुको थामेमा आएको बाढीको प्रसंग उल्लेख गर्दै श्रेष्ठले बाढीले बस्ती, होटल तथा संरचना बगाएको घटनाले भविष्यमा हिमताल फुट्ने जोखिमप्रति सचेत हुनुपर्ने देखाएको बताए ।
‘सोलुखुम्बुको थामेमा आएको बाढीले त्यहाँको बस्ती नै बगायो । म पनि त्यहाँ गएको छु । होटलहरू र मानिसहरूको बाक्लो बस्ती भएको ठाउँ एकैछिनमा तहसनहस भएको दृश्य कल्पना गर्न पनि गाह्रो हुन्छ’, उनले भने ।
नेपालमा हिमताल फुट्ने जोखिम रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा रहेका सहर र बस्तीको सुरक्षाबारे गम्भीर रूपमा सोच्नुपर्ने श्रेष्ठले बताए ।
विश्वव्यापी औद्योगिकीकरण र त्यसबाट बढेको तापक्रम वृद्धिको असर नेपालले समेत भोग्नुपरेको भन्दै उनले भविष्यमा आउन सक्ने विपद्बाट जोगिन अहिले नै सतर्कता र पूर्वतयारी आवश्यक रहेको बताए ।
श्रेष्ठले कानुनी राज्यको आवश्यकतामा पनि जोड दिए । कानूनको पालना गराउने क्रममा महानगर प्रहरीले सही काम गरेको भन्दै उनले त्यसका लागि पश्चात्ताप गर्नुपर्ने अवस्था नरहेको बताए ।
‘कानुनी राज्य बन्नुपर्छ र कानूनको पालना हुनुपर्छ । त्यसका लागि यहाँहरूले सही काम गर्नुभएको छ, त्यसमा कुनै पश्चात्ताप गर्नुपर्दैन’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया