काठमाडौं । धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा प्रभावित बनेको एलपी ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउन वैकल्पिक रुट प्रयोग गर्ने सहमति भएको छ।
मकवानपुर प्रशासनको समन्वयमा बसेको सरोकारवालाको बैठकले ग्यास बोकेका ट्रकलाई स्कर्टिङसहित सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने र ढुवानी भाडा निर्धारण गर्ने निर्णय गरेको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौंमा ग्यास अभाव हुन नदिन खाली सिलिन्डर हेटौंडा ल्याएर भर्ने र पुनः काठमाडौं पठाउने काम सुरु भइसकेको छ। करिब डेढदेखि दुई सयसम्म ग्यास ढुवानी गर्ने गाडी परिचालन गर्ने तयारी छ।
बैठकले हेटौंडालाई ‘बेस–प्वाइन्ट’ मानेर काठमाडौंसम्म ग्यास ढुवानीको भाडा प्रतिट्रक ८० हजार रुपैयाँ निर्धारण गरेको छ। उक्त भाडा १५ टन क्षमताको ट्रकका लागि लागू हुनेछ।
यस्तै, ग्यास बोकेका गाडीलाई एकतर्फी रुटमा सञ्चालन गर्ने सहमति भएको छ। काठमाडौं–हेटौंडा आउँदा त्रिभुवन राजपथ र हेटौंडाबाट काठमाडौं फर्किँदा कान्ति राजपथ प्रयोग गरिनेछ।
सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास अभाव हुन नदिन प्रशासन, नेपाल आयल निगम, सडक विभाग र व्यवसायीबीच समन्वय गरेर ढुवानीलाई तीव्र बनाउने तयारी गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया