विपद् व्यवस्थापनमा सरकारको सक्रियता पुगेन, संसदलाई यथार्थ जानकारी गराउनुपर्छः कमला पन्त

9 Shares

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले प्राकृतिक विपत्तिका बेला सरकारको उपस्थिति प्रभावकारी नभएको भन्दै आलोचना गरेकी छन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा राज्यको उपस्थिति कागजमा मात्र नभई पीडितको घरदैलोमा देखिनुपर्नेमा जोड दिइन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा पुर्‍याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरिन् ।

बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती र त्रिशुली क्षेत्रका बस्ती तथा सडक, सञ्चार र जलविद्युत आयोजना जस्ता महत्त्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुगेको उनले बताइन् ।

सरकारले विदेशी प्राविधिक टोलीलाई फिर्ता पठाएको भन्ने सुन्नमा आएको उल्लेख गर्दै उनले संकटको समयमा यस्तो गैरजिम्मेवार व्यवहार नगर्न सचेत गराइन् । तीन तहका सरकारबीच समन्वयको अभाव देखिएको र राहत वितरणमा पारदर्शिता नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । सरकारले सामाजिक सञ्जालमार्फत नभई संसद्मा उपस्थित भएर आधिकारिक जानकारी दिनुपर्ने उनको माग छ ।

पन्तले भनिन्, ‘अहिलेको पहिलो प्राथमिकता जीवन बचाउने, बेपत्ताको खोजी र राहत वितरण हुनुपर्छ । जलविद्युत् आयोजनाका सुरुङभित्र प्राविधिक र कामदार फसेको आशङ्का रहेकाले आधुनिक टनेल रेस्क्यु प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गरिनुपर्दछ । अहिलेको परिस्थिति राजनीतिक प्रतिष्पर्धा गर्ने समय होइन, यो राष्ट्रिय एकता, सहकार्य र मानवीय संवेदनशीलता प्रदर्शन गर्ने समय हो ।’

शवको पहिचान र व्यवस्थापनमा मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्दै उनले डीएनए वा फिंगरप्रिन्ट प्रविधि प्रयोग गरी प्रशासनिक झन्झटबिना शव आफन्तलाई बुझाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

साथै, सीमा क्षेत्र र छिमेकी मुलुकसम्म पुगेका शवहरूको खोजी र व्यवस्थापनबारे पनि उनले सरकारको जवाफ माग गरिन् । जलवायु परिवर्तनका कारण मुलुक नै जोखिममा परेको उल्लेख गर्दै नेता पन्तले पुनर्निर्माणका कार्यहरू जोखिमयुक्त ठाउँमा नभई सुरक्षित स्थानमा गरिनुपर्ने बताइन् ।

उनले बेपत्ता नागरिकको शीघ्र खोजीका लागि सरकारका सम्पूर्ण निकायलाई सक्रिय हुन आग्रह गर्दै राष्ट्रिय सहकार्यका लागि आह्वान समेत गरिन् ।