भोटेकोशी बाढी : उद्योग वाणिज्य सङ्घका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग

9 Shares

काठमाडौँ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले स्वर्गीय आमाको स्मृतिमा बाढीपीडितको उद्धार तथा राहतका लागि आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ।

प्राकृतिक विपद्का बेला भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठानमार्फत कोषमा रकम जम्मा गर्नुभएको हो ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद् तथा सङ्कटका समयमा सहयोग गर्दै आउनुभएको छ । यसअघि कोभिड-१९ महामारीका बेला पनि उहाँको पहलमा महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन उपलब्ध गराएर नागरिकको उपचार सहज बनाउन सक्रिय भूमिका निभाउनुभएको थियाे ।

साथै मल्लले कोरोनाको पहिलो कहरका बेला भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने नागरिकका लागि भोजनको व्यवस्थापमा गर्नुभएको थियो ।

पछिल्ला केही वर्षयता उहाँले प्रतिष्ठानमार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । उहाँले विपद्का बेला प्रभावित नागरिकलाई राहत पुर्याउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयाे ।