काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने करमा छुट दिने भएको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले एम्बुलेन्स र शव वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यसैगरी, पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–विक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती (बारा) लाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए । सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ ।
उनले भने, ‘नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रुपमा छुट प्रदान गर्ने । सुनसरी, सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरु सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने । पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय, काउन्सिलर अफिस खोल्न सहमति दिने । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने र पूर्वमहालेखा परीक्षक श्री टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद विक्री सम्बन्धी अध्ययन तथा छानविन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय भएको छ ।’
बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिरहाका गणेशकुमार यादवलाई सहिद घोषणा गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया