प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्‌मा जवाफदेही बनाउन सभामुखसँग कांग्रेसको माग

22 Shares

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङमार्फत संसद्मा उपस्थित गराई सांसदले उठाएका प्रश्नको जवाफ दिन लगाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले प्रतिपक्षी दलले सरकारलाई घेराबन्दी गर्न नभई जवाफदेही बनाउन संसद्मा प्रधानमन्त्रीको उपस्थिति माग गरेको बताउनुभयो ।

‘सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस् । हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौँ । हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौँ । हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौँ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले गत शुक्रबार राति सामाजिक सञ्जालमा गर्नुभएको टिप्पणीलाई लक्षित गर्दै सांसद काउचाले प्रधानमन्त्री एक्लो नरहेको बताउनुभयो । मुलुकको हितमा प्रधानमन्त्री अघि बढे प्रतिपक्षले साथ दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्नँ । मुलुकको हितमा तपाईं अघि बढ्नुस्, प्रतिपक्ष तपाईंको साथमा उभिनेछ । तर संविधानभन्दा माथि कोही छैन,’ उहाँले भन्नुभयो ।

सांसद काउचाले संसद्भन्दा ठूलो राजनीतिक मञ्च नरहेको र राष्ट्रिय हितभन्दा ठूलो कुनै दल हुन नसक्ने बताउँदै सरकार सञ्चालनमा संसद्को भूमिकालाई बेवास्ता गर्न नहुनेमा जोड दिनुभयो ।

‘संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन । राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन । सचिवालयले मात्रै देशको शासन चल्दैन,’ उहाँले भन्नुभयो ।

उहाँले संसद्मा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने बताउँदै सरकारलाई संवैधानिक तथा संसदीय उत्तरदायित्वप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ ।