यलुङ–री हिमालमा बेपत्ता पाँच विदेशी आरोहीको शव भेटियो

14 Shares

काठमाडौं । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा हिमपहिरोमा परी गत वर्षदेखि बेपत्ता रहेका पाँच विदेशी आरोहीको शव भेटिएको छ।गौरीशङ्कर गाउँपालिका–९ स्थित ५ हजार ६३० मिटर उचाइको यलुङ–री हिमालमा गत वर्ष कात्तिक १७ गते आरोहणका क्रममा हिमपहिरो खसेपछि उनीहरू बेपत्ता भएका थिए।

स्थानीयवासीले हिमाल क्षेत्रमा पाँचवटा शव देखिएको जानकारी दिएपछि शव सङ्कलन र पहिचानका लागि ड्रिम डेस्टिनेसनले हेलिकोप्टर पठाएको थियो। खराब मौसमका कारण उद्धारमा ढिलाइ भए पनि सोमबार हेलिकोप्टर घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रहरीका अनुसार तीनवटा शव गोंगर ल्याइसकिएको छ भने बाँकी दुई शव ल्याउन हेलिकोप्टर पुनः घटनास्थलतर्फ गएको छ। मौसम अनुकूल रहे आजै पाँचवटै शव गोंगर ल्याइनेछ।

गत वर्ष नेपाली तथा विदेशी गरी १५ जना आरोही यलुङ–री आरोहणमा गएका थिए। हिमपहिरोमा परेका आठ जनाको उद्धार भए पनि सात जना बेपत्ता भएका थिए।

बेपत्ता भएकामध्ये दोलखाका पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव यसअघि नै फेला परेको थियो। अहिले फेला परेका पाँच जना विदेशी आरोहीमा फ्रान्सकी मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो रहेका छन्।