काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूतसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाहले भारतीय राजदूत श्रीवास्तवसँग सोमबार बिहान ११ बजे भेट्ने कार्यक्रम छ । भारतीय राजदूतसँगको भेटलगत्तै उनले चिनियाँ राजदूतसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले यसअघि गत चैत १३ गते राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । चैत २५ गते भएको उक्त भेटमा विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
त्यसअघि शाहले विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएका थिए । तर, पछिल्लो समय उनले एक्लाएक्लै भेटवार्ता गर्न थालेका छन् । गत असार २३ गते शाहले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए ।
भारतीय र चिनियाँ राजदूतसँगको भेटपछि प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया