म्यानमारमा बाँध फुट्दा ४० हजार बढी मानिस बाढीबाट प्रभावित

21 Shares

एजेन्सी । म्यानमारको एयारवाडी क्षेत्रमा रहेको नगउन नदीको बाँध फुट्दा ४० हजार भन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ताले सामाजिक कल्याण, राहत तथा पुन:स्थापना मन्त्रालयलाई उद्धृत गर्दै गत जुलाई ३० देखि अगस्ट ७ सम्मको अवधिमा उक्त संख्यामा नागरिकहरू प्रभावित भएको जानकारी दिएका हुन् । एयारवाडी क्षेत्रको लेम्येथना टाउनशिपमा गत जुलाई ३० मा बालुवा उम्लिने र जमिन भासिने समस्या देखिएपछि बाँध फुटेको थियो ।

बाँध फुटेसँगै उक्त क्षेत्रका विभिन्न बस्तीहरू डुबानमा परेका थिए । बाढी पीडितहरूको सहयोगार्थ हाल विभिन्न स्थानमा अस्थायी राहत शिविरहरू सञ्चालनमा ल्याइएका छन् । प्राप्त पछिल्लो जानकारीअनुसार शुक्रवार रातिसम्म सहरी क्षेत्रमा बाढीको सतह क्रमशः घट्दै गएको हाे। अवरुद्ध भएका सञ्चार सेवाहरूमध्ये करिव ३५ प्रतिशत पुनः सुचारु भइसकेको छ ।

प्रभावित क्षेत्रमा खाद्यान्न सामग्रीको वितरण कार्यलाई तीब्रता दिइएको छ । राहत तथा उद्धार प्रयासका लागि हालसम्म १४ करोड ६० लाख क्याट (करिब ६९ हजार ५ सय २३ अमेरिकी डलर) बराबरको आर्थिक सहयोग उपलब्ध गराइसकिएको सरकारी अधिकारीहरूले बताएका हुन् ।