काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

24 Shares

काठमाडौं । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर रु ३६ अर्ब ३८ करोड नाघेको हो ।

आव २०८१/८२ को असारसम्म काँकरभिट्टा नाका भएर रु २५ अर्ब ८३ करोड १० लाख ६४ हजार बराबरको व्यापार घाटा रहेकामा आव २०८२/८३ को सोही अवधिमा रु १० अर्ब ५५ करोड १९ लाख ७८ हजारले वृद्धि भई रु ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार पुगेको छ ।

समीक्षा अवधिमा यस नाकाबाट हुने आयात (पैठारी) २२ दशमलव ७१ प्रतिशतले बढेको छ । आव २०८१/८२ मा रु ५१ अर्ब आठ करोड ६५ लाख आठ हजार बराबरको सामान आयात भएकोमा गत आव २०८२र८३ मा रु ११ अर्ब ६० करोड नौ लाख १८ हजारले बढेर रु ६२ अर्ब ६८ करोड ७४ लाख २६ हजार पुगेको छ ।

सोही अवधिमा निर्यात (निकासी) तर्फ चार दशमलव १५ प्रतिशतको वृद्धि दर्ता भएको छ । आव २०८१/८२ को असारसम्म रु २५ अर्ब २५ करोड ५४ लाख ४४ हजारको वस्तु निर्यात भएकामा आव २०८२/०८३ मा रु एक अर्ब चार करोड ८९ लाख ३९ हजारले बढेर रु २६ अर्ब ३० करोड ४३ लाख ८३ हजार पुगेको छ ।

आयात र निर्यात दुवैमा वृद्धि भएसँगै कूल वैदेशिक व्यापार १६ दशमलव ५७ प्रतिशतले बढेर रु ८८ अर्ब ९९ करोड १८ लाख १० हजार पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कूल वैदेशिक व्यापार रु ७६ अर्ब ३४ करोड १९ लाख ५३ हजार रहेको थियो ।

पूर्वी नाकाबाट हुने कूल व्यापारमा आयातको वर्चस्व झन् बढेको छ । आयात-निर्यात अनुपातको हिसाब गर्दा आव २०८१/८२ मा रु एकको निर्यात गर्दा रु दुई दशमलव शून्य दुईको आयात हुने गरेकामा गत आवमा अनुपात बढेर रु दुई दशमलव ३८ पुगेको छ ।

कूल व्यापारमा निर्यातको हिस्सा ३३ दशमलव शून्य आठ प्रतिशतबाट घटेर २९ दशमलव ५६ प्रतिशतमा सीमित भएको छ भने आयातको हिस्सा ६६ दशमलव ९२ प्रतिशतबाट बढेर ७० दशमलव ४४ प्रतिशत पुगेको छ ।