महिला टी-२० एशिया कपको खेल तालिका सार्वजनिक

13 Shares

काठमाडौं । एशियाली क्रिकेट परिषद् (एसीसी) ले महिला टी–२० एशिया कपको खेल तालिका सार्वजनिक गरेको छ ।

एसीसीले प्रतियोगिता यहि अगस्ट २८ तारिखदेखि यूएईको दुबईमा शुरू हुने जनाएको हो । ८ वटा टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह ‘ए’ मा रहेका हङकङ र थाइल्यान्डबीच हुने भएको छ । त्यस्तै, भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल आगामी सेप्टेम्बर ५ तारिखमा हुने भएको हो।

महिला एशिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, थाइल्यान्ड र हङकङ रहेका छन् । समूह ‘बी’ मा साविक विजेता श्रीलङ्का, बंगलादेश, आयोजक यूएई र इन्डोनेशिया रहेका हुन् । प्रतियोगिताका सबै खेलहरू फ्लडलाइटमा सञ्चालन हुने भएका छन् । फाइनल खेल सेप्टेम्बर १३ तारिखमा हुनेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् । सेमिफाइनल खेलहरू सेप्टेम्बर १० र ११ तारिखमा हुने भएका हुन् ।

टी–२० फर्म्याटको महिला एशिया कपको यो छैठौं र सम्रगमा नवौं संस्करण हो । भारतले चार पटक एकदिवसीय फर्म्याटको र तीन पटक टी–२० फर्म्याटको उपाधि जितेको छ । त्यस्तै, बंगलादेशले सन् २०१८ मा उपाधि जितेको थियो।