काठमाडाैं । देशैभर पछिल्ला केही दिन यता मनसुन सक्रिय छ ।
मौसम पूर्वानुमान महाशाखाले अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको जनाएकाे हाे। शनिबार राति ठूलो पानी परेको काठमाडाैं उपत्यकामा आइतबार बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ । आइतबार दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे । विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकीका २३ जिल्लामा उच्च जोखिम अनुमान गरिएको हाे । साेही जिल्लामा रेड अलर्ट गरिएकाे छ । कोशीका ९ जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, बागमतीका ६ जिल्ला, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक तथा गण्डकीका ८ जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो ।
अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्र्यान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक शतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया