काठमाडाैं । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश दिएकाे छ ।
सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ परी थुनामा रहेका पौडेलकी पत्नी दोमाया पौडेलले गत असार १० मा रिट दायर गरेकी थिइन् । उक्त रिटमा दोस्रोपटकको सुनुवाइमा सर्वोच्चबाट मिसिल झिकाउने आदेश दिएकाे हाे ।
न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले चारवटा अदालतका भट्टका मिसिल एकसाथ पेस गरी सुनुवाइ गर्न यही असार १८ गतेको पेसी तोकिदिएको छ ।
“यसमा देहायबमोजिमका मुद्दाको अभियोगपत्र सहितको सक्कल फाइल इजलास समक्ष देखाई फिर्ता लैजाने गरी सम्बन्धित अदालतबाट झिकाई मिति २०८३/०३/१८ गते पेसी तोकी नियमानुसार पेस गर्नू,” आदेशमा भनिएको छ ।
“निवेदक दीपक भट्ट र प्रतिवादी नेपाल सरकार गृह मन्त्रालयसमेत भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको छिनुवा मिसिल यस अदालतको अभिलेख शाखाबाट झिकाई अवलोकनार्थ संलग्न राख्नु,” आदेशमा भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया