काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्तिबारे छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
समितिलाई सुरुमा दिइएको १५ दिनको समयसीमा जेठ १९ गते सकिएपछि मन्त्रिपरिषद्ले थप पाँच दिनको म्याद दिएको थियो । उक्त थपिएको म्याद आगामी शनिबार सकिँदै छ ।
छानबिन समितिका सदस्य तथा प्रवक्ता अच्युतमणि न्यौपानेले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
सुधन गुरुङले निर्वाचन आयोगमा पेश गरेको सम्पत्ति विवरण र गृहमन्त्री बनेपछि सार्वजनिक गरेको सम्पत्ति विवरणबीच फरक देखिएपछि उनको सम्पत्तिमाथि प्रश्न उठेको थियो । आरोप र विवाद बढ्दै गएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
सरकारले वैशाख २८ गतेको मन्त्रिपरिषद् बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन् ।
समितिको प्रतिवेदनपछि गुरुङको सम्पत्ति सम्बन्धी विवाद र आरोपबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया