काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नख्खु कारागारबाट कैदीबन्दीहरू भागेको घटनासम्बन्धी अनुसन्धान प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय मनिष झा र हरि ढकालमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगको प्रतिवेदनअनुसार उक्त घटनामा उनीहरूको भूमिका र संलग्नताबारे विस्तृत छानबिन गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनको प्रकरण १५ मा कारागार प्रशासक (जेलर) सत्यराज जोशी र रास्वपा सभापति रवि लामिछानेका बयानहरू एक–अर्कासँग बाझिएको उल्लेख गरिएको छ ।
जेलर जोशीले आफूलाई लामिछानेका समर्थक तथा सहयोगीहरूको निरन्तरको डर, त्रास र दबाबमा परेर उनलाई कारागारबाट बाहिर पठाउने पत्रमा हस्ताक्षर गर्न बाध्य पारिएको बताएका छन् ।
तर रवि लामिछानेले भने जेलरकै आग्रहमा आफूलाई ‘कारागार बाहिर गए जेल सुरक्षित हुन्छ’ भन्दै बाहिर पठाइएको दाबी गरेका छन् ।
प्रतिवेदनमा जेलरले दबाबमा हस्ताक्षर गरे पनि तत्काल सम्बन्धित निकायमा जानकारी नदिएको कार्यले उनको भूमिकामाथि गम्भीर शंका उत्पन्न भएको उल्लेख छ ।
आयोगका अनुसार घटनाका क्रममा १३,५८५ कैदीबन्दी र ९७४ नाबालिग कैदीहरू कारागारबाट भागेका थिए भने सो क्रममा १० जनाको मृत्यु भएको थियो । भागेका केही कैदीहरू पुनः आपराधिक गतिविधिमा संलग्न भएको समेत प्रतिवेदनमा उल्लेख छ ।
आयोगले गैरकानुनी रूपमा कारागारबाट बाहिरिएका व्यक्तिहरूका कारण नागरिकको बाँच्न पाउने अधिकार र अपराध पीडितको अधिकार हनन भएको निष्कर्ष निकालेको छ ।
आयोगले राजनीतिक व्यक्तिहरू र उनीहरूका सहयोगीहरू मानव अधिकार पालनामा समान रूपमा जिम्मेवार हुनुपर्ने समेत प्रतिवेदनमा स्पष्ट गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया