काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन शाहलाई संविधानभन्दा माथि नठान्न आग्रह गर्दै संसद्प्रति उत्तरदायी बन्नुपर्ने बताएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री संसद्बाट जन्मिएको पद भएकाले सदनलाई सम्बोधन गर्नु अनिवार्य दायित्व भएको बताए ।
उनले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नहुनु नियमावली र संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै कम्तीमा एक मिनेट भए पनि रोष्ट्रममा उभिएर धारणा राख्नुपर्ने बताए ।
“प्रधानमन्त्री संविधानभन्दा माथि हुनुहुन्छ भने सरकारले सदनमा आएर स्पष्ट पारोस्, होइन भने संसद्बाट निर्वाचित प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्छ,” दुलालले भने ।
दुलालले बहुमतको बलमा विपक्षीको विरोधबीच विधेयक पारित गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको आरोप लगाए । संसद्मा बहस र छलफल नगरी विधेयक पारित गर्ने हो भने सांसदहरूको भूमिका नै कमजोर हुने उनको भनाइ थियो ।
उनले सरकारले संसद् नियमावलीका आफूअनुकूल व्यवस्था मात्र पालना गरेको तर प्रधानमन्त्रीको प्रश्नोत्तर र उपस्थितिसम्बन्धी प्रावधानमा उदासीनता देखाएको आरोप लगाए ।
दुलालले विपक्षी दलले पनि आधा जनमतको प्रतिनिधित्व गर्ने भएकाले प्रतिपक्षको आवाजलाई बेवास्ता गर्न नहुने बताए । “संसद्मा सत्तापक्षसँग बहुमत होला, तर प्रतिपक्षले पनि लाखौं नागरिकको आवाज प्रतिनिधित्व गर्छ,” उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया